Techie IT
Bold Nepal

सिन्धुली फिक्कलमा कुटपिटका कारण दलित परिवार विस्थापित


सिन्धुली फिक्कलमा कुटपिटका कारण दलित परिवार विस्थापित

सिन्धुलीको फिक्कल गाउँपालिका–१ पाथिभरा डुडेमा कुटपिटका कारण एक दलित परिवार विस्थापित हुनुपरेको गम्भीर घटना अहिलेसम्म गुपचुप रहेको पाइएको छ। फिक्कल–१ डुडे निवासी ५२ वर्षीय लोकबहादुर विश्वकर्मालाई गत दसैंको टिकाको दिन उनको घरमै मरनासन्न हुने गरी कुटपिट गरिएको थियो।

स्थानीय भोजबहादुर तामाङसहितको समूहले लोकबहादुरलाई कुटपिट गरेको थियो । दसैंमा कुटपिट भएपछि उपचारका लागि लामो समय काठमाडौं बसेका लोकबहादुर डेढ महिना अघि गाउँ फर्किए पनि फेरि कुटिने डरले आफ्नो घर भने फर्किन सकेका छैनन्।

कसरी भएको थियो कुटपिट?

दसैंको टिकाको दिन केही व्यक्ति गाउँको एक पसलमा खानपिन गरेर बसिरहेका थिए। चोकमा बसेर केही बोल्न नमिल्ने कुरा बोलेको सुनेपछि लोकबहादुरले “जान्ने–बुझ्ने मान्छेले यस्तो कुरा नबोलौँ” भन्दै सम्झाएको बताउँछन्।

त्यही सामान्य विषयलाई लिएर लोकबहादुर विश्वकर्मामाथि कुटपिट सुरु गरिएको लोकबहादुर बताउँछन्। कुटपिट भएपछि उनी भाग्दै नजिकैको आफन्तको घरमा पुगेर लुकेका थिए। लुकेको घरसम्म लखेट्दै पुगेपछि घरधनी विनोद विश्वकर्माले हस्तक्षेप गरेर थप कुटपिट हुन नदिएको हामिलाइ बताएका छन् ।

राति घरमै पुगेर फेरि कुटपिट

दसैंको टिकाको दिन बेलुका करिब ८ बजेतिर लोकबहादुरको परिवार खानपिनको तयारीमा थियो। दसैं मनाउन गाउँ आएका छोराबुहारीसहित उनीहरू मीठो–मसिनो खाने तयारीमा थिए। बा–आमासँग दसैं मनाउन विदेशमा रहेका साइलो छोरा पनि घर आइपुगेका थिए।

लोकबहादुरका पाँच सन्तानमध्ये तीन छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छो छोरा काठमाडौंको एक बंगुर फार्ममा मजदुरी गर्छन्। उनकी एक छोरीको भने हालै विवाह भएको छ।

यही समयमा भोजबहादुर तामाङ आफ्ना छोरा सहित करिब एक दर्जनको समूह लिएर लोकबहादुरको घरमा पुगेका थिए। घरेलु हातहतियार बोकेर आएको समूहले लोकबहादुरको घरलाई एकछिनमै रणभूमिमा परिणत गर्यो।

भोजबहादुरको समूहले घरको झ्यालढोका तोडफोड गर्नुका साथै लोकबहादुर र उनका छोरालाई मरनासन्न हुने गरी कुटपिट गरेको पुष्टि भएको छ। छुट्याउन खोज्दा आफू र भाउजू माथि पनि हातपात भएको लोकबहादुरकी छोरी पार्वती विश्वकर्माले बताएकी छन्।

कुटपिटका क्रममा लोकबहादुरको पाखुराको हड्डी भाँचिएको थियो । अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।उनी लामो समयसम्म काठमाडौंमा उपचार गराएर गत माघ ९ गते गाउँ फर्किएका हुन्। अझै पनि हात माथि उठाउन नसक्ने अवस्था रहेको उनले बताएका छन्।

तोडफोड भएको घर र प्रयोग भएको हतियार

लोकबहादुर डरले आफ्नै घर फर्किन सकेनन्

लोकबहादुरको घर एकान्त स्थानमा छ। नजिकै अन्य घरहरू छैनन् र घर जंगलको छेउमा रहेको छ। उपचारपछि गाउँ फर्किए पनि पुनः कुटपिट हुन सक्ने डरले उनी आफ्नो घर फर्किन सकेका छैनन्। तोडफोड भएको घरको झ्यालढोका समेत अहिलेसम्म मर्मत गरिएको छैन। कान कम सुन्ने उनकी श्रीमती र लोकबहादुर मात्र घरमा बस्नुपर्ने भएकाले आफूलाई डर लागेको उनले बताए। हाल उनी आफ्नो घरभन्दा केही तल रहेको आफ्नो मुल घरमा आश्रय लिएर बसिरहेका छन्।

कुटपिटको घटना प्रत्यक्ष देखेका स्थानीय कुमार कार्कीले भने लोकबहादुर पीडित भए पनि उनी घर फर्किन नसक्ने अवस्था भने नरहेको बताउँछन्। उनका अनुसार अब फेरि कुटपिट हुने अवस्था छैन।

कुटपिट गर्ने भोजबहादुर धरौटीमा रिहा

लोकबहादुरलाई कुटपिट गरेपछि भोजबहादुर तामाङसहितका आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको दसैं र तिहार प्रहरी हिरासतमा बितेको थियो। अदालतले तोकेको साढे तीन लाख रुपैयाँ धरौटी बुझाएर भोजबहादुर हाल तारेखमा रिहा भएका छन्। भोजबहादुर भने दिउँसो सामान्य विवाद भएको स्वीकार गरे पनि आफूले घरमै पुगेर कुटपिट नगरेको दाबी गर्छन्।

कुटपिट गर्ने भोजबहादुर तामाङ

पीडित परिवारले भने भोजबहादुर माओवादीको स्थानीय नेता भएको र माओवादीको नेताको पावरले गर्दा पीडित परिवारले उचित क्षतिपूर्ति पाउन नसकेको बताउँछन् ।

उपचार खर्च महँगो,पाएनन् क्षतिपूर्ति 

लोकबहादुर विश्वकर्मा घरमै आरन चलाएर जीविकोपार्जन गर्दै आएका थिए। उनको आर्थिक अवस्था कमजोर रहेको छ। उपचारमा हालसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

चोट लागेको हात माथि उठाउन नसक्ने भएकाले तत्काल आरन चलाएर जीविकोपार्जन गर्न नसक्ने अवस्था रहेको उनले बताए। हालसम्म आफूले कुनै क्षतिपूर्ति नपाएको पनि उनले बताएका छन्।

लोकबहादुरको हस्पिटल रिपोर्ट

सरोकार निकाय बेखबर

लोकबहादुर विश्वकर्मा घरबाट विस्थापित हुनुपरेको विषयमा फिक्कल–१ का वडा अध्यक्ष होम सुनुवारसँग जिज्ञासा राख्दा उनले दसैंमा कुटपिट भएको सुनेको भए पनि परिवार विस्थापित भएको जानकारी नभएको बताए। उनले जोसुकै व्यक्ति आफ्नो घरमा निर्धक्क बस्न पाउनुपर्ने भन्दै यदि परिवार विस्थापित भएको पुष्टि भए पुनर्बहालीका लागि पहल गर्ने बताएका छन्।

कुटपिटको डरले एउटा दलित परिवार आफ्नै घरबाट विस्थापित हुनुपर्ने अवस्था आउँदा समेत स्थानीय तह, सरोकारवाला निकाय र दलित अधिकारका नाममा बजेट ल्याएर काम गर्ने संस्थाहरू बेखबर रहनु दुःखद रहेको छ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया