यस्तो बन्नेछ बालेनको मन्त्रिपरिषद्
होटल रोयल सिङ्गीमा लामो रस्साकस्सीपछि बालेन सरकारमा सहभागी हुने मन्त्रीहरूको सूची टुंग्याउने गृहकार्य अन्तिम चरणमा पुगेको छ। केही दिनअघि रवि, डिपी र स्वर्णिम होटल रोयल सिङ्गीमा पुगेर छलफल गरेपछि मन्त्रीहरूको नामबारे छलफल अगाडि बढेको थियो। बालेनले गृहमन्त्रालय आफ्नो पकडमा राख्ने प्रयास गरे पनि अहिले केही लचकता देखाउँदै डिपी अर्याललाई गृहमन्त्री बनाउने सहमति जुटेको स्रोत बताउँछ।
बालेनको तर्फबाट भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल र शिक्षा मन्त्रीमा सस्मित पोखरेलको नाम फाइनल भएको छ। बालेन मेयर हुँदा लम्साल भौतिक पूर्वाधार तथा पोखरेल शिक्षा सल्लाहकारका रूपमा काम गरेका थिए। सस्मित पोखरेलकै नेतृत्वमा काठमाडौं महानगरमा सामुदायिक शिक्षाले उल्लेखनीय फड्को मारेको भन्दै बालेनले उनलाई नै शिक्षा मन्त्री बनाउन अडान कसेका थिए। लम्साल भने बालेनका नजिकका व्यक्ति मानिन्छन्।
यस्तै, बालेनको तर्फबाट खेलकुद मन्त्रालयमा बब्लु गुप्ता, खानेपानी मन्त्रालयमा अमरेश सिंह र पर्यटन मन्त्रालयमा सुदन गुरुङको नाम अन्तिम चरणमा रहेको छ। गुप्ता यसअघि ‘जेनजी सरकार’मा जेनजीको प्रतिनिधित्व गर्दै खेलकुद मन्त्री नै रहेका थिए।
बोल्ड नेपाललाई प्राप्त यही सूची नै लगभग अन्तिम भएको स्रोतले जनाएको छ। यसमा २-३ जना हट्ने वा थपिने सम्भावना भने रहेको छ। अमरेशलाई भने हटाउन रविको जोड रहेको छ । शहरी विकासलगायत केही मन्त्री थप्ने , केही मन्त्रालय गाभ्ने र केही मन्त्रालय प्रधानमन्त्री मातहतमै राख्ने तयारी भइरहेको बताइएको छ। बालेनको मन्त्रिपरिषद् सकेसम्म १५ सदस्यीयमा सीमित गर्ने र धेरैमा १८ सदस्य नकट्ने भने निश्चित भएको छ ।
यसका साथै खगेन्द्र सुनुवारलाई दलित समुदायको प्रतिनिधित्व गराउँदै मन्त्रिपरिषद्मा समेट्ने प्रयास भए पनि सहमति जुट्न सकेको छैन। आसिका तामाङ, राजु पाण्डे र जगदीश खरेलले पनि मन्त्री बन्नका लागि निरन्तर लबिङ गरिरहेको स्रोत बताउँछ ।

सिन्धुलीको सम्भावना अझै एकिन छैन
सिन्धुलीका रास्वपा नेताहरू भने आशिष् गजुरेल मन्त्री बन्नेमा लगभग ढुक्क देखिएका छन्। बालेनले विज्ञलाई प्राथमिकता दिने र पूर्वाधार विज्ञका रूपमा चिनिएका गजुरेल मन्त्री बन्न धेरै लबिङ आवश्यक नपर्ने उनीहरूको भनाइ छ। तर गजुरेलको नाम अझै आन्तरिक रूपमा औपचारिक छलफलमा प्रवेश नगरेको स्रोतले जनाएको छ। यद्यपि उनलाई शहरी विकास मन्त्रालय दिन सकिने विषयमा बाहिरी रूपमा छलफल भइरहेको बताइएको छ।
क्याटेगोरी : राजनीति






प्रतिक्रिया