Techie IT
Bold Nepal

Exclusive दुधौलीमा किर्ते हस्ताक्षर गर्दै – जंगल सखाप पारिँदै


Exclusive दुधौलीमा किर्ते हस्ताक्षर गर्दै – जंगल सखाप पारिँदै

दुधौली–६ हर्साही जगाडीस्थित जनशक्ति सामुदायिक वन समूहले किर्ते हस्ताक्षर धस्काउँदै जंगल सखाप पार्ने गरेको पुष्टि भएको छ। सामुदायिक वनले अहिले जंगलमा धमाधम सालका रुख काटिरहेको छ। केही दिनअघि वन कार्यालयका कर्मचारी र स्थानीयको सहभागितामा अनुगमन समेत गरिएको थियो।

स्थानीय र वनका कर्मचारीले गरेको अनुगमन

यसरी भयो किर्ते हस्ताक्षरको पुष्टि

स्थानीयलाई जानकारी नदिई जंगलमा धमाधम सालका रुख काट्न थालेपछि स्थानीयले वन कार्यालयमा उजुरी गरेका थिए। डिभिजन वन कार्यालय डकाहाका कर्मचारीसहित करिब तीन दर्जन स्थानीयले रुख काटिएको स्थानको अनुगमन गरेपछि वन कार्यालयले अनुमतिअनुसार कटान भएको भन्दै कागजात देखाएको थियो। वन कार्यालयलाई सामुदायिक वनले बुझाएको माइन्युट हेर्दा आफ्नो नाम उल्लेख भए पनि आफूले हस्ताक्षर नगरेको स्थानीयले देखेपछि उनीहरू झस्किएका थिए। त्यसपछि सामुदायिक वनले किर्ते हस्ताक्षर गर्दै रुख काट्ने तथा बेच्ने गरेको पुष्टि भएको हो।

किर्ते हस्ताक्षरले गरिएको माइन्युट

के भन्छन् सामुदायिक वन अध्यक्ष र डिभिजन वन प्रमुख?

सामुदायिक वनका अध्यक्ष टेकराज अधिकारीका अनुसार यसपटक ४२०० क्युफिट काठ कटानको अनुमति रहेको छ। सोही अनुमतिअनुसार जंगलमा धमाधम रुख कटान भइरहेको उनले बताए। किर्ते हस्ताक्षरको विषयमा जिज्ञासा राख्दा अधिकारीले सुरुमा बोल्न इन्कार गरे पनि केही व्यक्ति बैठकमा सहभागी भएको तर हस्ताक्षर गर्ने बेलामा उपस्थित नभएपछि अलिअलि हस्ताक्षर मिलाएर धस्काइएको बताएका छन्। तर स्थानीय भने अधिकांश हस्ताक्षर किर्ते भएको र वन समितिका सदस्यहरू समेत रुख कटानबारे जानकार नरहेको बताउँछन्। केही दिनअघि भएको अनुगमनकै क्रममा अधिकांश हस्ताक्षर किर्ते भएको पुष्टि भइसकेको स्थानीयको दाबी छ।

डिभिजन वन कार्यालय डकाहाका प्रमुख मैनाली कलदनले भने स्थानीयले नै ७ सदस्यीय समिति बनाएर छानबिन गर्ने प्रतिबद्धता जनाएपछि अहिले स्थानीयको छानबिन प्रतिवेदन कुरेर बसेको बताए। तर स्थानीय भने अनुगमनकै क्रममा किर्ते हस्ताक्षर भएको पुष्टि भइसकेकाले वन कार्यालयले नै अनुसन्धान गर्नुपर्नेमा उल्टै स्थानीयलाई नै मिलेर आउन भनिएको भन्दै असन्तुष्टि जनाएका छन्।

छानबिन समितिका सदस्य एक दुर्गाबहादुर पाख्रिङ अबको दुई दिनभित्र छानबिन सकिने र यसबारे स्पष्ट जानकारी दिने बताएका छन्। तर स्थानीय भने छानबिन गर्नुको साटो विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाउँदै घटना गुपचुप बनाएर मिलाउन खोजिएको आरोप लगाउँछन्।

जंगल सोत्तर पारिएको छ

आर्थिक हिनामिनाको समेत आरोप

जनशक्ति सामुदायिक वनले अहिले भवन निर्माण गरिरहेको छ। तर स्थानीयका अनुसार उक्त भवन निर्माणको नाममा धेरै रुख काटेर अवैध रूपमा बिक्री गरिएको र त्यसको हिसाबसमेत पारदर्शी नभएको आरोप छ। एक स्थानीयका अनुसार यसअघि बेचिएको काठको हिसाबकिताब पनि पारदर्शी छैन। तर अध्यक्ष अधिकारीले भने सबै हिसाबकिताब पारदर्शी रहेको र जुनसुकै बेला फर्स्योट गर्न तयार रहेको बताएका छन्।

सामुदायिक वनको निर्माणाधीन भवन

स्थानीयले सहजरूपमा पाउँदैनन् काठ

यसरी सामुदायिक वनको काठ कटान हुँदा यसको प्रयोग गर्ने पहिलो अधिकार स्थानीयलाई हुन्छ। तर स्थानीयले काठ खरिद गर्न नसक्ने गरी मूल्य निर्धारण गर्ने गरिएको अन्य वन समितिको उपभोक्ता पनि गुनासो छ  । रुख कटान, ढुवानी, भत्ता, खाजा–पानी लगायत विभिन्न खर्च जोडेर स्थानीयले खरिद गर्न नसक्ने गरी मूल्य तय गरिने गरिएको बताइन्छ। स्थानीयले खरिद गर्न नसकेपछि काठ ठेकदारलाई बिक्री गरिने गरिएको छ। काठ ठेकदारले नै रुख कटानदेखि सम्पूर्ण लगानी अग्रिम रूपमा गर्ने गरेको स्थानीयको भनाइ छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया