Techie IT
Bold Nepal

८ महिनामा ७ अर्बको आलु आयात, नेपाली किसानले पाएनन् लागत मूल्य


८ महिनामा ७ अर्बको आलु आयात, नेपाली किसानले पाएनन् लागत मूल्य

यतिबेला नेपाली किसान आलुको लागत मूल्य समेत नपाएर चिन्तित छन्। धेरै आलु खेती हुने काभ्रे र सिन्धुलीको सुनकोसी क्षेत्रमा किसानहरूले आलुले लागत मूल्य समेत नपाएकोमा गुनासो गरिरहेका छन्। नेपालमा अहिले उपलब्ध प्रविधिको प्रयोग गरेर आलु खेती गर्दा न्यूनतम लागत मूल्य प्रति किलो २० रुपैयाँभन्दा माथि पर्छ। यदि जग्गा भाडामा लिएर आलु खेती गर्नुपर्छ भने लागत अझ बढ्छ।

तर बिचौलियाहरू खेतखेतमा पुगेर १० रुपैयाँ प्रति किलो भन्दै बार्गेनिङ गरिरहेका छन्। न त सरकारले किसानको उत्पादनको न्यूनतम लागत मूल्य तोक्न सकेको छ, न त कृषि उत्पादनको उचित भण्डारणको व्यवस्था छ। प्रदेश सरकारले हरेक जिल्लामा दसौं करोड खर्च गरेर बनाएका कोल्ड स्टोरहरू विगत पाँच वर्षदेखि बेवारिसे छन्।

सिन्धुलीमा ५ वर्षदेखि अलपत्र रहेको चिस्यान केन्द्र

नेपाली आलुले लागत मूल्य नपाउँदा भारत र बंगलादेशबाट ठूलो मात्रामा आलु आयात भइरहेको देखिन्छ। भन्सार विभागको साउन यताको तथ्यांक अनुसार, आठ महिनामा ७ अर्बभन्दा बढी मूल्यको आलु आयात भएको छ। गत आठ महिनामा भारतबाट मात्र ६ अर्ब ३० करोड २ लाख ६ हजार रुपैयाँको २५ करोड केजी आलु आयात भएको छ। यस्तै, बंगलादेशबाट ४९ करोड ११ लाख ४१ हजार रुपैयाँ मूल्यको २ करोड केजी आलु आयात भएको देखिन्छ। यसबाहेक भारतबाट ३५ लाख रुपैयाँ मूल्यको आलुका बीउ आयात भएको छ। आलुको विभिन्न परिकारको आयात अरु अर्बौँ रुपैयाँमा हुन्छ।

पछिल्लो ८ महिना आयात भएको आलुको विवरण

नेपाली उत्पादन प्रशस्त हुँदाहुँदै यसरी ठूलो मात्रामा भारतीय आलु आयात गर्न दिँदा नेपाली किसानले लागत मूल्य समेत नपाएर विस्थापित हुन बाध्य छन्।

विदेशी किसानसँग प्रतिस्पर्धा गर्न सक्दैनन् नेपाली किसान

भारत र बंगलादेशमा ठूलो मात्रामा व्यवसायीक आलु खेती हुन्छ। त्यहाँ आलु रोप्नेदेखि खन्ने र बोरामा प्याक गर्ने सबै काम मेसिनले गरिन्छ। सरकारले व्यवसायी किसानलाई धेरै सुविधा पनि दिएको हुन्छ। मलको हाहाकार र कालोबजारीमा किन्नुपर्ने अवस्था त्यहाँ छैन। त्यसैले त्यहाँको लागत मूल्य धेरै कम हुन्छ।

तर नेपालमा अहिलेसम्म परम्परागत खेतीमा निर्भर छ। सानो हाते ट्र्याक्टरले जोत्ने बाहेक सबै काम हातले गर्नुपर्छ, जसले लागत मूल्य धेरै बढाउँछ। यसकारण नेपाली किसान भारतको कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन्।

रवि लामिछाने गृहमन्त्री हुँदा रोकिएका भारतीय कुखुरा

रवि लामिछाने गृहमन्त्री हुँदा चितवनका कुखुरा पालक कृष्णकले भारतबाट अबैध रूपमा कुखुरा र अण्डा आयात रोक्न माग गरेका थिए। किसानको मागअनुसार उनले अवैध कुखुरा आयातमा कडाइ गर्न निर्देशन दिए। रवि लामिछाने गृहमन्त्री हुँदा कुखुरापालकले लागत मूल्य पाएको कुखुरा पालक किसान बताउँछ ।

त्यसैले नेपालमा उत्पादन हेरेर मात्र कृषि जन्य सामग्रीको आयात गर्न दिनु आवश्यक छ। नेपाली कृषि उत्पादन पर्याप्त छ भने आयातमा कडाइ गर्नुपर्छ। सरकारले किसानको उत्पादनमा न्यूनतम मूल्य सुनिश्चित गर्नुपर्छ।


क्याटेगोरी : कृषि

प्रतिक्रिया