Techie IT
Bold Nepal

भिआइपीलाई स्टन्ट गर्ने फन्डा बनेको साइकल


भिआइपीलाई स्टन्ट गर्ने फन्डा बनेको साइकल

रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन पुगेका छन्। आज साइकल चढेर बैठकमा भाग लिन पुगेपछि गजुरेलको सर्वत्र चर्चा भएको छ। सांसदको सपथको दिन स्कुल ड्रेसमा सपथ लिन पुगेका रास्वपाका सांसद रहबर अन्सारीको चर्चा थियो भने आज साइकल जाने गजुरेलको चर्चा छ।

तर भिआइपीको यो साइकल फण्डा पहिलोपटक होइन। २०६८ सालमा प्रधानसेनापति गौरव शम्शेर राणाले अधिकृत माथिका कर्मचारीलाई हरेक शुक्रबार साइकलमा र साइकल नभए सार्वजनिक यातायातमा कार्यलय जान सर्कुलर जारी गरेका थिए। सेनाको हेडअफिसको सर्कुलरअनुसार प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहेका नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीवृन्दसम्मका उच्च पदस्थ अधिकारी साइकल चढेर कार्यालय जान थाले ।

बबरमहल घर भएका सेनापति राणा ५०० मिटर परको कार्यलयसम्म केही समय साइकलमा ओहोरदोहोर गरेका थिए। वातावरणलाई प्रदूषण हुनबाट जोगाउन अलिकति भए पनि योगदान पुगोस् भनेर साइकललाई प्रोत्साहन गरिएको थियो। तर सेनाको त्यो फण्डा धेरै समय टिकेन। केही समयपछि फेरि साइरन बजाएर पजेरोमै हुइकिन सुरु भयो।

लालबाबू पण्डित मन्त्री बनेपछि पनि उस्तै फण्डा सुरु गरे। मन्त्री पण्डितले मन्त्रालय नै साइकलमा जाने घोषणा गरेका थिए। लालबहादुर पण्डित साइकल मन्त्रीको रूपमा चिनिन्छन् । तर मन्त्री भएपछि उनको फण्डा धेरै टिकेन। पछि उनलाई “दिनको २० लिटर तेल खाने लालबहादुरको साइकल” भन्दै धेरै ट्रोल गरियो। उनी पछि टल्केको पजेरोमै सन्तुष्ट भए। साइकल फण्डा मात्र भयो। लालबाबुले आफ्नो आत्मकथा “सिंहदरबार बदल्ने संघर्ष”मा सिंहदरबार भित्र साइकलमा सवार रहेको फोटो प्रयोग गरेका छन्।

साइकलमा लालबाबु पण्डित

आज सिन्धुली-२ बाट निर्वाचित सांसद आशिष गजुरेल साइकल प्रयोग गरेपछि यसलाई फण्डा भन्ने पनि छन् र प्रशंसा गर्ने पनि। गजुरेलले भने आफ्नो कार श्रीमतीलाई छोडेर २५ हजारको नयाँ साइकल किनेको बताएका छन्। यातायात पूर्वाधार विज्ञ समेत रहेका गजुरेल नियमित रूपमा सार्वजनिक यातायात सहज हुनुपर्ने सवाल उठाउँछन्। गजुरेलको साइकल यात्रा पनि यसअघिको भिआइपीको जस्तै फण्डा बन्छ कि नियमित साधन, त्यो भने हेर्न बाकी छ।

साइकलमा सांसद भवन जाँदै आशिष् गजुरेल

क्याटेगोरी : समाचार

प्रतिक्रिया