केरा बिकेन , कर मात्र तिरेर फर्किइन् ११ वर्षीया विमला
फागुन २३ गते खम्बे चौर अगाडि मतगणना हुँदै थियो। सत्तामा पुग्न हानाथाप देखिन्थ्यो। कार्यकर्ता बाहिर बसेर निरन्तर हुटिङ गरिरहेका थिए। त्यही दिन शनिबारे हाटमा भिरगाउँ निवासी ११ वर्षीया विमला थिङ केही कलिलो केरा बोकेर बिक्रीका लागि आइपुगिन्। विमलाले यसरी हाटमा सामान बेच्न ल्याएको हामीले यसअघि पनि देखेका थियौं र लेखेका थियौं।

यसपटक भने फुर्सद भएकाले चुनावी नतिजा हेर्नुभन्दा विमलाको दिनभरको व्यापार हेर्न मन लाग्यो। उनले कति सामान ल्याउँछिन्, गाडी भाडामा कति खर्च हुन्छ, नगरपालिकालाई कति कर तिर्नुपर्छ र उनलाई कति बचत हुन्छ भन्ने जान्न मन थियो। बिहान ७:३० बजे ७ दर्जन कलिलो केरा बोकेर हाट आइपुगेकी विमलालाई ८ बजे नै नगरपालिकाले २० रुपैयाँ करको रसिद थमाइदियो।कृषकले घरेलु सामान मात्र होइन, नगरपालिकालाई तिर्ने पैसा पनि बोकेर आउनुपर्ने रहेछ।

म ओहोरदोहोर गर्दै उनको व्यापार नजिकबाट नियालिरहेँ। ११ बजेसम्म उनको अलिकति पनि व्यापार भएको थिएन। केरा कलिलो भएकाले ग्राहकले ओल्टाइपल्टाइ हेर्थे र ‘कलिलो रहेछ’ भन्दै हिँड्थे।
हामी फेरि १ बजे पुग्दा स्थानीय उत्पादन पाइने हाटबजार प्रायः रित्तिसकेको थियो। ग्राहकको चहलपहल थिएन। बिक्री नभएको सामान पोका पारिँदै थियो। केही भने अझै बिक्री हुन्छ कि भनेर पर्खिरहेका देखिन्थे। विमला पनि १ बजेसम्म ग्राहकको पर्खाइमै थिइन्। अन्त्यमा ३० रुपैयाँ दर्जनमा केरा दिन खोज्दा समेत बिक्री भएन। नगरपालिकालाई कर भने बिहानै तिरिएको थियो।

१ कप चिया पिएर २ बजे हामी फर्किँदा त्यहाँ केरा मात्र थियो—विमला थिइनन्। खोजी गर्दा, सामान बिक्री भएमा पैसा ल्याइदिन वा नभए केरा छोडेर आइदिन भनेर गाउँकै दिदीलाई जिम्मा लगाई उनी छिमेकीसँगै घर फर्किएकी रहिछन्।सँगै आएका छिमेकीको चाडै सामान बिकेपछि फर्किदा एक्लै पर्ने डरले उनी सामान अरुलाइ जिम्मा लगाएर हिडेको बुझिएको थियो ।
यसरी अरूलाई जिम्मा दिएर जाँदा पनि विमलाको केरा बिक्री भएन। अन्ततः उनले नगरपालिकालाई कर मात्र तिर्नुपर्यो।

यसरी हाटमा कर उठाउने चलन नयाँ होइन, दशकौँदेखि चल्दै आएको हो। तर पछिल्लो समय नगरपालिकाले निश्चित व्यक्तिको स्वार्थमा करोडौँका अन्य ठेक्का नलगाउने तर हाट ठेक्का लगाएर घरेलु उत्पादन बिक्रीमा ल्याउने निमुखा नागरिकलाई भने मारमा पार्ने काम भइरहेको देखिन्छ।
हाट ठेक्का लगाएर नियमित व्यापारीसँग कर लिनु स्वाभाविक हो। तर यस्ता स्थानीय उत्पादन बिक्रीमा ल्याउने साना किसानलाई कर छुट दिने विषयमा कसैको ध्यान पुगेको छैन। स्थानीय कृषि सामग्री बिक्रीमा ल्याउने किसानलाई प्रोत्साहन दिनुपर्ने बेला उल्टै कर असुल्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
कर तिरेपनी सुविधा भने छैन
कमलामाइ–११ भिरगाउँ निवासी धनबहादुर वाइबा केही बकुल्ला बोकेर बिक्रीका लागि सिन्धुलीमाढीको शनिबारे हाटबजार आइपुग्नुभएको थियो। सिन्धुलीको शनिबारे हाटमा रहेको स्थानीय उत्पादन पाइने स्थलमा अधिकांश किसान भिरपानीकै देखिन्थे। धनबहादुरले नै “यो लस्कर सबै भिरगाउँकै हो” भन्दै हामीलाई चिनाउनुभयो।

वाइबाका अनुसार यो बकुल्ला मकैभित्र रोपिएको हो। उनका अनुसार भिरपानीमा सिँचाइको अभाव रहेको छ।किसानहरूले आफ्नै पहलमा उत्पादन गरेका कृषि उपज हुन् यी। यदि सिँचाइको सहजीकरण गरिदिने हो भने भिरगाउँले कमलामाइ नगरपालिकालाई नै सधैं स्थानीय तरकारी उपलब्ध गराउन सक्ने वाइबाको भनाइ छ। “भिरगाउँमा पानी भए तरकारी रोपेपछि राम्रो फल्छ,” उनी भन्छन्। तर पछिल्लो समय बाँदरको समस्या पनि बढ्दै गएको उनले बताए।
क्याटेगोरी : कृषि






प्रतिक्रिया