गाउँ–गाउँबाट चन्दा उठाएर सुरुवात गरिएको थियो महेन्द्र राजमार्ग निर्माण
इतिहासको पानामा नेपाल
नेपालको यातायात क्षेत्रमा आजसम्म मेरुदण्डका रूपमा रहेको महेन्द्र राजमार्ग गाउँ–गाउँबाट चन्दा उठाएर निर्माण सुरु गरिएको तथ्य प्राप्त भएको छ। राजा महेन्द्रले वि.सं. २०१८ सालमा पूर्वदेखि पश्चिमसम्म देशलाई जोड्ने यस राजमार्गको निर्माण घोषणा गरेका थिए। त्यसपछि भारत, बेलायत र सोभियत संघको सहयोगमा विभिन्न खण्डहरू क्रमशः निर्माण गरिएका थिए। राजमार्ग निर्माणका क्रममा नागरिकहरूले विभिन्न स्थानमा श्रमदानसमेत गरेका थिए।
महेन्द्र राजमार्ग निर्माणका लागि तत्कालीन २ नम्बर जिल्ला, दोलखा जफे गाउँपञ्चायत निवासी हरिप्रसाद पोखरेलले ५० पैसा सहयोग गरेको प्रमाणस्वरूपको रसिद बोल्ड नेपाललाई प्राप्त भएको छ । त्यसबेला सिन्धुली, रामेछाप र दोलखालाई पूर्व २ नं. जिल्लामा राखिएको थियो। पोखरेलले गरेको उक्त सहयोगको रसिद उहाँका पलाती जे.बी. झपट पोखरेलले संकलन गरी सुरक्षित राख्नुभएको छ । त्यसबेला सहयोगका लागि रसिद बनाएर मात्र चन्दा संकलन गर्ने प्रचलन रहेको थियो।

महेन्द्र राजमार्ग अहिले हुँदैछ एसियन हाइवे
राजा महेन्द्रले गाउँ–गाउँबाट चन्दा उठाएर वा मित्र राष्ट्रहरूको सहयोग लिएर भए पनि ऋण नलिई राजमार्ग निर्माण सुरु गराएका थिए। प्रारम्भमा यस राजमार्गको नाम राजा महेन्द्रले नै पूर्व–पश्चिम राजमार्ग राखेका थिए । पछि यस राजमार्ग निर्माणमा राजा महेन्द्रको महत्वपूर्ण योगदान रहेकोले महेन्द्र राजमार्ग नामकरण गरिएको थियो ।
पछिल्ला करिब पाँच वर्षदेखि महेन्द्र राजमार्गका विभिन्न खण्डहरू चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। यसलाई अहिले एसियन हाइवेको नामकरण दिइएको छ र एसियाली विकास बैंकको खर्बौँ ऋणमा निर्माण भइरहेको छ।
क्याटेगोरी : अर्थ






प्रतिक्रिया