फोटोकपी देखाएर सजिलै मतदान गर्न नपाइने
भोलि फागुन २१ गते देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ। मतदानका लागि लाखौं मतदाता आफ्नो गृहजिल्ला पुगिसकेका छन्। तर धेरै मतदातामा एउटा जिज्ञासा देखिएको छ—के निर्वाचन आयोगले तोकेको परिचयपत्रको फोटोकपीका आधारमा मतदान गर्न पाइन्छ कि पाइँदैन?
कतिपय मतदाताले नागरिकता लगायतका परिचयपत्रको शक्कल प्रति सहरमै छोडेर गाउँ पुगेका कारण अन्योल बढेको हो।
पाठकको जिज्ञासा समाधान गर्न हामीले निर्वाचन आयोग तथा सिन्धुलीका प्रमुख निर्वाचन अधिकृत कमलराज विष्टसँग जानकारी लिएका छौं। विष्टका अनुसार मतदान गर्न शक्कल प्रति नै साथमा हुनुपर्छ। निर्वाचन कानुनमा फोटोकपीका आधारमा मतदान गर्न दिने स्पष्ट व्यवस्था छैन।
निर्वाचन आयोगका अनुसार मूल कागजात नै आवश्यक हुन्छ। यद्यपि, सम्बन्धित मतदान अधिकृत र बुथमा खटिएका राजनीतिक दलका प्रतिनिधिको सहमतिमा मतदाताको पहिचान सुनिश्चित भएमा फोटोकपीका आधारमा पनि मतदान गराउन सकिने सम्भावना रहन्छ। आयोगको भनाइ अनुसार सकेसम्म धेरै नागरिकले मतदान गर्न पाउन भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न सकिने भए पनि विवादको अवस्था आएमा शक्कल प्रति अनिवार्य हुने बताइएको छ।
यी ६ कागजात देखाएर गर्न पाइन्छ मतदान
निर्वाचन आयोगले निम्न कागजातमध्ये कुनै एक शक्कल प्रति देखाएर मतदान गर्न पाइने स्पष्ट पारेको छः
- नागरिकता प्रमाणपत्र
- जग्गाधनी पुर्जा
- राहदानी
- राष्ट्रिय परिचयपत्र
- सवारी चालक अनुमति पत्र
- मतदाता परिचयपत्र
त्यसैले मतदान गर्न जाँदा अनिवार्य रूपमा परिचयपत्रको शक्कल प्रति साथमा लैजान निर्वाचन अधिकृतको आग्रह छ।
क्याटेगोरी : समाचार






प्रतिक्रिया