रास्वपाका अर्बपति सांसदलाई फेरिफेरि गाडीको नम्बर प्लेट
रास्वपाको अर्बपति समानुपातिक सांसद विदुषी राणाले प्रयोग गरेको टेस्ला गाडीमा कहिले निलो त कहिले रातो नम्बर प्लेट राखिएको भनेर अहिले चर्चा भइरहेको छ। कतिले यसलाई गाडी नै फरक भएको बताएका छन् भने कतिले उक्त गाडी राणाकै नभएको दाबी गरेका छन्। कतिपयले भने रास्वपाले गरि खाएको देख्न नसकेको भन्दै आक्रोशसमेत पोखिरहेका छन्।
तर कहिले निलो त कहिले रातो नम्बर प्लेट भएको गाडी एउटै भएको बोल्ड नेपाललाई सूचना प्राप्त भएको छ। विदुषी राणा आइसल्यान्डकी अवैतनिक दूत रहेको समयमा अहिले रातो नम्बर प्लेटमा देखिएको गाडीमा निलो नम्बर प्लेट प्रयोग गरिएको थियो। अवैतनिक दूत भएबापत निलो नम्बर प्लेट प्रयोग गर्न पाइने नियम रहेको छ। केही महिनाअघिसम्म अवैतनिक दूत रहेकी राणाले अहिले राजीनामा दिएर सांसदको नियुक्ति लिएकी छन्। राणाले उक्त गाडीमा नै अहिले निलो नम्बर खारेज गरेर रातो नम्बर प्रयोग गरेकी हुन ।
के हो अवैतनिक दूत ?
अवैतनिक दूत भन्नाले कुनै पारिश्रमिक वा तलब नलिई नेपालले अर्को देशसँगको आर्थिक, व्यापारिक, पर्यटन तथा कूटनीतिक हित प्रवर्द्धन गर्न नियुक्त गरेको व्यक्ति हो।
अवैतनिक दूतहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोग, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश तथा विशिष्ट भेटघाटमा सहभागितालगायतका सुविधा पाउँछन्। निलो नम्बर प्लेट रहेको उनीहरूको गाडीसमेत प्रहरीले सहजरूपमा चेकजाँच गर्न पाउदैन। उनीहरूलाई मन्त्री बराबरको हैसियतसमेत दिइन्छ।
सरकारले ५१ देशमा गरेको अवैतनिक दूत नियुक्तिमा अधिकांश ठूला व्यापारीहरू नै रहेका छन्। खासमा यो पद व्यापारीहरूको सहजताका लागि खडा गरिएको देखिएको छ । चौधरी ग्रुपबाट मात्र पाँच जना अवैतनिक दूतका रूपमा नियुक्त भएका छन्।
अवैतनिक दूतको नाममा हुन्थ्यो कालो धन्दा
शंकर ग्रुपका प्रबन्ध निर्देशक सुलभ अग्रवालले कूटनीतिक नम्बर प्लेट भएको गाडीमा मेडिकल सामग्री कालोबजारी गरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो। कोरोनाको समयमा थर्मल गनलगायत स्वास्थ्य सामग्रीको हाहाकार रहेको थियो। निलो नम्बर प्लेट भएको गाडी प्रयोग गरेर ३ हजार पर्ने थर्मल गन ३० हजार रुपैयाँमा बेच्दै गर्दा अग्रवाल पक्राउ परेका थिए।
अग्रवाल किर्गिस्तानका लागि नेपाली अवैतनिक दूत थिए। अवैतनिक दूत भएका नाताले उनले निलो रङको नम्बर प्लेट भएको गाडी प्रयोग गरेर कालोबजारी गरेको पुष्टि भएको थियो।
क्याटेगोरी : समाचार






प्रतिक्रिया